काठमाडौं, माघ १८
उत्तरी छिमेकी राष्ट्र चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको डोज खोप अनुदानमा उपलब्ध गराउने भएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार छिटै नेपाललाई अनुदानमा सो खोप दिइने उल्लेख गरेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ । चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो खोपले करिव ८० प्रतिशत काम गर्ने बताइएको छ ।
यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ । काठमाडौंस्थित चीनिया दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ ।
अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्