काठमाडौं, माघ १९ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार एनआरएन र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।
विभागले सूचना नै प्रकाशन गरी नेपाली मूलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।
विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति पनि दिने जानकारी दिएको छ । नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।
बिभागका अनुसार विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै विदेशीले यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य रहेको बिभागको भनाइ छ । यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्