जनता टाइम्स

२० माघ २०७७, मंगलवार ०९:१०

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा


काठमाडौं , माघ २०

नेपाली सेनाले आफ्ना हतियार जडित (बख्तरबन्द) गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन ।

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् । जंगीअड्डाले भने विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरेर अभ्यास गरिएको भनेको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यास भएको बताउनुभएको छ । बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर-चक्कर हिडेका थिए ।