जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार २०:१८

भागरथीका हत्यारा दिनेशले आफ्नो पितासँग लुकाउन सकेनन अपराध : भने-जे हुनु भइसक्यो, ठूलो गल्ती भयो


बैतडी, फागुन ६ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन । आफ्नै बुबा दीपकराज भट्टसहित जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू दिनेशले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन ।

हिरासतमा भेटन आइपुगेका पितासहितका परिवारलाई दिनेशले ‘जे हुनु भइसक्यो, मबाट ठूलो गल्ती भयो’ भन्दै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको परिवारकै सदस्यले समेत बताएका छन । फागुन ४ गते मंगलवार पक्राउ परेका दिनेशले यसअघि भागरथीको हत्या गरेको स्वीकार गरेका बलात्कार भने नगरेको दाबी गर्दै आएका थिए । दिनेशले बलात्कार नगरेको दावी गरिरहेको तर पोष्टमार्टम प्रतिवेदनमा भने बलात्कारपछि हत्या भएको देखिएपछि दिनेशको परिवार ससंकित बनेको थियो । सोही आधारमा हिरासतमै भेटन उनका बाबु पुगेका थिए ।

अभियुक्तले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडितपरिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए । सोही आधारमा बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए । आज भने अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका बाबुसहित परिवारका सदस्यसँग भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन । अनुसन्धान गरिरहेको प्रहरीले अभियुक्त दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए । ‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए, त्यहाँ गएर हेर्दा घडी पनि फेला पर्यो,’ अनुसन्धानमा खटिएकामध्ये एक अधिकृतले भने । अभियुक्त दिनेशका काका लक्ष्मण भट्टले पनि हिरासतमा गएर भेटदा गल्ती स्वीकार गरेको बताउनु भयो ।

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते हराएकी थिइन् । भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । उनको हत्या भएको १४ दिनपछि बुधवार प्रहरीले सोही बिद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।