जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार १६:०४

बर्दियामा निःशुल्क बालरोग शिविर


बर्दिया, फागुन ८

बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ । सो केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्टर र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. विष्णुबहादुर थापाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा ६८ बालबालिका लाभान्वित भएका एसओएस प्रमुख शिव चौधरीले जानकारी दिनुभयो ।बाँसगढी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ का र बढैयाताल गाउँपालिका वडा नं ४ र ५ का विपन्न परिवारले पनि शिविरबाट स्वास्थ्य सुविधा लिएका थिए ।

शिविरमा प्रयोगशाला परीक्षणका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।एसओएस युवालय नेपालगञ्जका प्रमुख तुलाराम विश्वासले सन २०२१ भित्र सहयोगी संस्थासँगको सहकार्यमा १० निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नेपालगञ्ज–पोखरा विमान सेवा उडान शुरु

सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो ।

बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज विमानस्थलबाट पोखरा उडेको थियो । पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले स्वागत गर्नुभएको थियो ।

पोखराबाट पनि शुक्रबार नाट्टाको १७ पर्यटन व्यवसायी बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न आएका छन् । पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।