जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १३:४२

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान


काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा बैठक आव्हान गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिन (फागुन २४ गते) भित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको थियो । अदालतको फैसला कार्यान्वयन गर्दै आज बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सिफारिश प्राप्त भएलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको हो ।