जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १९:०४

चिकित्सा शिक्षा ऐनअनुसार बिएण्डसीले सम्बन्धन पाउने


काठमाडौं, चैत ३

झापास्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ उपदफा ६ अनुसार तत्काल सम्बन्धन पाउनुपर्ने माग गर्नुभएको छ । सञ्चालक प्रसाईले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उपदफामा उपत्यका बाहिर सञ्चालन हुने मेडिकल कलेजलाई आयोगले सहमति दिन कुनै वाधा नपर्ने भन्दै बिएण्डसीले तत्काल सम्बन्धन पाउनुपर्ने जिकिर गर्नुभयो ।

‘नियम कानुनअनुसार सबै प्रक्रिया पुरा भएको छ’, उहाँले भन्नुभयो, ‘संरचना पनि मापदण्ड अनुसार सबै छ तर किन सम्बन्धन नपाउने त ?’ उहाँले ऐनको सोदफाको उपदफा ६ मा उपत्यका बाहिर खोलिएका र मापदण्ड पुगेका शिक्षण संस्थाको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नरोकेको सुनाउनुभयो ।

ऐनको सो उपदफामा उल्लेख छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उक्त ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन ।तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिइ मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले बाधा पुग्ने छैन ।’