जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १६:४३

एक्शनमा प्रधानमन्त्री कार्यालय : बीर अस्पतालका भ्रष्टाचारीमाथि कार्वाही गर्न ताकेता


काठमाडौं, जेठ २४

प्रधानमन्त्री कार्यालयले बीर अस्पतालको भ्रष्टाचारमा संलग्नमाथि कार्वाही नभएको बिषयमा गम्भीर चासो राखेको छ । बीर अस्पतालले भ्रष्टाचार र अनियमिततामा संलग्न कर्मचारीलाई कारवाही नगरेपछि प्रधानमन्त्री कार्यालयले चासो राखेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले दिएको अध्ययन प्रतिवेदनका आधारमा किन कारवाही नभएको भनी प्रधानमन्त्री कार्यालयले चासो राखेपछि सतर्कताले पुनः स्वास्थ्य मन्त्रालयलाई ताकेता गरेको छ । प्रधामन्त्री कार्यालयको सुशासन प्रवर्धन तथा भ्रष्टाचार निगरानी शाखाले अनियमिततामा संलग्न पदाधिकारी र कर्मचारीलाई कारवाहीका लागि लेखी पठाएकोमा हालसम्म कुनै कारवाही नभएकोमा चासो राखेको हो । वीर अस्पतालमा भएका अनियमिततामाथि एकैपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले छानविन अघि बढाएका छन ।

उपकरण खरिददेखि विरामीको खानेकुराको टेण्डरमा समेत अनियमितताका धेरै उजुरी परेपछि सुक्ष्म छानविन थालिएको हो। यसअघि राष्ट्रिय सतर्कता केन्द्रले पनि वीर अस्पतालका तत्कालिन पदाधिकारी र खरिद इकाइ प्रमुखलगायतका कर्मचारीले खरिद तथा सामान आपूर्तिमा भ्रष्टाचार गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो । अख्तियारले सो अनुसन्धानलाई समेत आफ्नो छानविनको आधार बनाएको छ । वीर अस्पतालको अनियमिताको बारेमा कर्मचारीबाटै उजुरी आएपछि स्वास्थ्य मन्त्रालयले पनि आन्तरिक छानविन गरिरहेको छ ।

सतर्कता केन्द्रले वीर अस्पतालको रासन सामाग्री खरिदको टेण्डरमा भएको अनियमितताको बारेमा समेत अस्पताल प्रशासनसँग विवरण मागेको छ । अस्पतालले गरेको टेण्डरमा एक पैसामा अण्डा खुवाउने जस्ता अविश्वसनीय प्रस्तावलाई मिलेमतोमा स्वीकृत गरेको भन्दै अन्य ठेकेदार अदालतमा समेत पुगेका थिए ।

सतर्कता केन्द्रले खरिदमा भएको अनियमितता सम्बन्धमा वीरलाई लेखेको पत्रमा भनिएको छ ‘अस्पतालको लागि राशन सामाग्री खरिदको टेण्डरमा स्वीकृत फर्मले पेश गरेको राशन परिणाम सहितको मूल्यसूची हेर्दा अहिलेको बजार भाउअनुसार अविश्वसनीय रहेको देखिएको, यसले विरामीलाई खुवाइने खानाको गुणस्तरमा समेत शंका उब्जाइदिएकोले सो सम्बन्धमा विवरण सहितको प्रतिक्रिया उपलब्ध गराइदिनू ।’

वीर अस्पतालमा एकपछि अर्को अनियमिताका घटना बढेपछि अख्तियारले केही समयअघि खरिद इकाइ तथा लेखाबाट कागजात नै लगेर छानविन गरेको थियो । यसअघि सतर्कता केन्द्रले कर्मचारी नियुक्ति तथा उपकरण खरिदमा जिम्मेवार पदाधिकारीले कानुनी एबं प्रक्रियागत त्रुटि गरेको प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो ।

सो प्रतिवेदनमा तत्कालिन उपकुलपति गणेश गुरुङ, रजिष्टार किरण मानन्धर, ट्रमा अस्पतालका निर्देशक डा. प्रमोद उपाध्याय, आर्थिक प्रशासन प्रमुख लक्ष्मी प्याकुरेल, खरिद इकाइ प्रमुख भगवति थपलियालगायतलाई कानुन बमोजिम कारवाही गर्न सिफारिस गरेको थियो ।