जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १९:२४

प्रधानमन्त्री ओलीको घोषणा : सरकार हरेक समस्या समाधानको बाटोमा छ


रमेश गिरी/भक्तपुर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज भक्तपुरमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गर्नुभयो ।
‘रोजगारीका लागि विदेशमा ४० लाख युवा भौँतारिरहेका छन, सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देशमै रोजगारी दिइने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गर्नुभयो । प्रधानमन्त्रीले प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउँदै ‘डिजिटल नेपाल’ बनाइने बताउनुभयो ।

सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले शुरु गरेको महान अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्व दुश्प्रचारमा सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।’

मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय छन् भन्दै उहाँले हिंसा र आतङ्कतर्फ लागेका तत्व सफल नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई सय ४० वर्ष देशलाई अँध्यारामा राख्ने राजतन्त्र फेरि चाहियो भन्नेको पनि अब केही नलाग्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध युवालाई साबेललगायत उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको स्पष्ट गर्दै चालू आर्थिक वर्षमा आंशिक रुपमा सो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चार नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उल्लेख गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने जानकारी दिनुभयो । सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाको तथ्याङ्कानुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषिमा मात्रै १२ लाख र भवन निर्माण क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिन सकिने बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, श्रम मन्त्रालयका सचिव महेश दहाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्य्विनायकका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले सो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको बताउनुभयो । सो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगर प्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त व्यक्तिले आजै सडक खनेर कामको शुरुआत गर्नुभएको थियो । ९तस्वीर उपलब्ध छ०