जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १३:४०

प्रधानमन्त्री ओलीको युरोप भ्रमण आजबाट, यस्तो छ नेपालको एजेण्डा


काठमाडौं, जेठ २५

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज स्वीटजरल्याण्ड प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली युरोपका तीन राष्ट्रको भ्रमणका लागि आज साँझ ७ : २५ बजे स्वीटजरल्याण्डतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र र श्रम सचिव लगायत हुनुहुन्छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्नुहुनेछ । सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्री ओलीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्री ओली बेलायतको भ्रमणमा निस्किनु हुनेछ । जेठ २९ गतेसम्म बेलायत भ्रमणमा रहनुहुने प्रधानमन्त्री ओलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीसँग केही उच्चस्तरीय भेटघाट हुनेछ । बेलायत भ्रमणको क्रममा नेपालका युगौँ पुरानो सम्बन्धबारे सिंहावलोकन गर्नुका साथै सम्बन्धलाई नयाँ उचाइमा लग्ने भन्ने विषयमा केही समझदारीहरू हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन । त्यस्तै बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोप भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराई बताउनु हुन्छ । प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।

‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकता छ, सोहीअनुसार सहयोग लिन यो भ्रमण फलदायी हुनेछ,’ परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो । भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुहुने छ । ‘बेलायसँगको हाम्रो सम्बन्ध सन् १९४७ को सन्धिले निर्देशित गर्छ । मलाई लाग्छ यसमा तलमाथि हुँदैन,’ भट्टराईले भन्नुभयो ।