जनता टाइम्स

३१ चैत्र २०७७, मंगलवार १६:४७

काठमाडौंसहित ठूला शहरमा अनलाइन कक्षा सञ्चालन गर्ने मन्त्रिपरिषदमा प्रस्ताव


काठमाडौं, चैत ३१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित ठूला शहरहरुमा कम्तीमा एक महिना विद्यालय तथा कलेजहरुको कक्षा अनलाइन मार्फत गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । कोरोनाको चेन ब्रेक गर्नका लागि बढी जोखिम भएका शहरी क्षेत्रका विद्यालयहरुको पठनपाठन अनलाइनबाट गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । स्वास्थ्य पत्रकार मञ्च नेपालको अगुवाईमा आज भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जोखिम न्युनिकरण गर्नेलाई सरकारले गरेको तयारीबारे जानकारी दिने क्रममा उक्त जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थालाई हेरेर हामीले काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहर जोखिम बढी हुने स्थानमा अध्यययन अनलाइन मार्फत सञ्चालन गरौँ भनेका छौँ । हामीले कम्तीमा ३० दिन अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ भनेका छौँ । संक्रमणको चेन ब्रेक गर्न यस्तो प्रस्ताव गरेका हौँ । सोमबारको मन्त्रिपरिषद बैठकमा पनि यसबारेमा व्यापक छलफल भएको छ । यसबारेमा सम्भवत छिटै निर्णय हुन्छ ।’

उहाँले काठमाडौँमा नै स्कुल कलेज पढ्न निस्कने विद्यार्थीको संख्या ८ लाख भन्दा बढी रहेको भन्दै यो संख्या घर भित्रै रहँदा संक्रमण फैलने सम्भावना निकै कम हुने तर्क गर्नुभयो । उहाँले थप्नुभयो, ‘विद्यालय बन्द नै गर्न भनेका होइनौ । पढाउने पद्धति परिवर्तन गरौँ मात्रै भनेका हौँ । राजधानीमा अनलाइन कक्षा सञ्चालन गर्दा मात्रै यहाँ भएको करीब २०% जनसंख्याको आवतजावत रोकिन्छ । यो महामारीको बेलामा यसले ठूलो सहयोग पुग्छ ।’ मन्त्री त्रिपाठीले नव वर्षको अवसरमा प्रधानमन्त्रीले भोली विहान गर्ने सम्बोधनमा नै केही घोषणा हुनसक्ने बताउनुभयो ।

दैनिक ११ हजार केश र छ लाख सम्म संक्रमण पुग्न सक्ने स्वास्थ्यको प्रक्ष्येपण

मन्त्री त्रिपाठीले कोरोनाको जोखिम बढेको भन्दै संक्रमण पहिले भन्दा भयावह अवस्थामा पुग्न सक्ने बताउनुभयो । ‘हाम्रो अनुमान जेठ असारसम्म संक्रमण उच्चतम विन्दुमा पुग्ने र त्यसबेला दैनिक ११ हजारसम्म नयाँ केश थपिने अवस्था आउन सक्छ भन्ने छ । त्यसबेलासम्म संक्रमण ६ लाख माथि पुग्न सक्छ भन्ने पनि छ’ मन्त्री त्रिपाठीले अगाडी थप्नुभयो,‘त्यसैले हाम्रो विशेष अनुरोध स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरौँ । मास्क लगाउने, नियमित हात धुने र भौतिक दुरी कायम गर्ने काम जारी राखौँ ।’

उहाँले भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु यहिबेला घर फर्केको भन्दै मुख्य नाकाहरुमा कम्तीमा १ हजार जनासम्म अटाउने होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन लागेको पनि जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारसंग समन्वय गरेर स्थानीय तहमा पनि संस्थागत आइसोलेसन तथा क्वारेन्टिन सञ्चालनमा ल्याउने विषयमा छलफल भएको समेत जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको जोखिम भत्ताको समस्या हुँदैन

उहाँले गतवर्ष थुप्रै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको भन्ने गुनासो आएको भन्दै यसपटक त्यस्तो समस्या नआउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष पनि मन्त्रालयले पर्याप्त मात्रामै जोखिम भत्ता पठाएको हो । तर अस्पताल तथा स्वास्थ्य संस्थाहरुले त्यसको वितरणमा ध्यान दिएनछन्, जोखिम क्षेत्रमा काम गर्ने र नगर्ने सबैलाई दामासाईलाई वितरण गरेछन् । त्यसले धेरै ठाँउमा समस्या आएको रहेछ । अब त्यो हुँदैन, जोखिममा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीले भत्ता पाउँछन् ।’