जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १२:२१

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान, यस्तो छ युरोप भ्रमण तालिका


काठमाडौं, जेठ २६

प्रधानमन्त्री केपी शर्मा ओली तीन युरोपियन मुलुकको भ्रमणका लागि केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । शनिवार साँझ सवा ७ बजे दोहातर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री ओली केहीबेर अघि दोहाबाट जेनेभातर्फ प्रस्थान गर्नुभएको हो ।

जेनेभामा हुने अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ युरोप भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री ओलीले भोलि सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्नुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ । बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षीलगायत उच्चस्तरीय भेटवार्ता हुनेछ ।

बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तराष्ट्रिय विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । दोहामा ट्राञ्जिटमा रहनुभएका प्रधानमन्त्री ओली आज जेनेभातर्फ लाग्नुभएको हो । प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कनुहुनेछ ।