जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १४:०७

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी


मेलम्ची, जेठ २६

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो । बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

अस्पतालको एउटै शय्यामा तीनजनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए। बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताउनुभयो । झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिनुभयो । गम्भीर बिरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।