जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार ०७:१६

भारतम कोरोनाबाट एकैदिन करिव साढे तीन लाख जना संक्रमित , २७६१ को मृत्यु


काठमाडौँ, बैशाख १२ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि शनिबार ९हिजो० वैशाख ११ मा भारतमा दोस्रो धेरै घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतमा कोरोना महामारी दिनदिनै बढिरहेको छ भने ज्यान गुमाउनेहरु पनि बढिरहेका छन् । कोरोनाका गम्भीर बिरामी बढेसँगै दिल्ली, महाराष्ट्रलगायत राज्यका अस्पताल भरिभराउ हुन थालेका छन् । बिरामीले शैया पाउन लामो समयसम्म पर्खनु पर्ने अवस्था छ । यस्तै, बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । यस्तै, जोखिम बढेपछि आन्ध्र प्रदेशमा आजदेखि रात्रिकालीन कर्फ्यु लागु हुने भएको छ । आन्ध्र प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।