जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार १६:०३

देउवाको घोषणा : हामीसँग सरकार बनाउने संख्या छैन


काठमाडौं, बैशाख १७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताउनुभएको छ । आज उहाँले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै वैकल्पिक सरकार तत्काल नहुने बताउनुभएको हो । सम्मेलनमा प्रश्न सोधियो, ‘अहिलेको सरकारले केही गर्न सकेन, तपाईंहरूको नेतृत्वमा वैकल्पिक सरकार आए यो समाधान हुन्थ्यो कि भन्ने जनताले अपेक्षा गरेका छन् । त्यो कति सम्भावना छ ?’

त्यसको उत्तरमा सभापति देउवाले झर्किँदै भन्नुभयो, ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ?’ उहाँले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’

सम्मेलनमा उहाँले कोरोना भाइरसको विषयमा पार्टीको धारणा र विचारहरूबारे लिखित मन्तव्य पेस गर्नुभयो । त्यस्तै उहाँले बाहिर विभिन्न सञ्चारमाध्यममा आएजस्तो माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै सहमति नभएको बताउनुभयो ।