जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार १९:०२

टोसिलीजुमाव इन्जेक्सन आउँदै, थप ५५ हजार भाइल रेम्डेसिभिर ल्याउन विभागको अनुमति


काठमाडौं, बैशाख १७

औषधि व्यवस्था विभाग (डीडीए)ले औषधि आयात गर्ने विभिन्न कम्पनीहरुलाई थप ५५ हजार भाइल रेम्डेसिभिर खरिदको लागि अनुमति दिएको छ । यस्तै विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न समेत अनुमति दिएको हो । कोरोना भाइरसको नयाँ भेरियन्ट, दोस्रो लहर देशमा तिब्र गतिमा बढेपछि विभागले ठूलो परिमाणमा रेम्डेसिभिर र टोसलीजुमाव इन्जेक्सन आयातका लागि अनुमति दिएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार एसियायी बंगलादेशलाई १० हजार भाइल, बेकोन फर्मासीटकललाई १० हजार, हेल्थकेयर फर्मास्युटिकल्सलाई १० हजार र इन्सेक्ट्राले २५ हजार भाइल गरी कुल ५५ हजार भाइल ल्याउन अनुमति दिएको हो ।

गएको हप्ता मात्रै विभागले बंगलादेशबाट ३० हजार भाइल रेम्डेसिभिर ल्याउन बेक्सिम्को र इन्सेक्ट्रालाई क्रमश २० हजार र १० हजार भाइलको अनुमति दिएको थियो । आउँदो आइतबारसम्म अब सबै गरेर जम्मा ८५ हजार भाइल रेम्डेसिभिर नेपाल आउने भएको छ । रेम्डेसिभिर प्रयाप्त हुने भन्दै प्रवक्ता केसीले सबैलाई नआत्तिन पनि अनुरोध गर्नुभएको छ । विभागले टोसिलीजुमाव इन्जेक्सनलाई पनि आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

विभागले प्रयोग अनुमतिसंगै यो औषधि स्वीट्जरल्याण्डबाट ल्याउनुपर्ने २ हजार भाइल ल्याउने जिम्मा यतिकेम प्रालिलाई दिएको छ । नेपालमा १ भाइल इन्जेक्सनको करीव ६० हजार पर्न सक्ने अनुमान गरिएको छ भने चिकित्सकहरुले संक्रमितका लागि यो इन्जेक्सन २ देखि ४ भाइलसम्म आवश्यक पर्न सक्ने बताएका छन् ।