जनता टाइम्स

१८ बैशाख २०७८, शनिबार १६:५१

पुरानो रेकर्ड तोड्दै नेपालमा उच्च संक्रमण, एकैदिन ५७६३ जनामा कोरोना पुष्टि


काठमाडौं, बैशाख १८

नेपालमा कोरोना महामारी सुरु भएयता आज कोरोना भाइरस संक्रमणको संख्याले रेकर्ड कायम गरेको छ । आज देशभर ५७ सय ५३ लाई संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा महामारी सुरु भएयताकै यो संख्या अत्याधिक हो । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना निको भएका छन् । हिजो ५७ सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसअघि नेपालमा एकैदिन ५७ सय ४३ जनालाई संक्रमण पुष्टि भएको थियो ।

१४ हजार ९६९ जनाको पीसीआर परीक्षण भएकोमा ५७०६ जनालाई पोजेटिभ देखिएको छ भने ५६६ जनाको एन्टीजेन परीक्षण हुँदा ५७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ सय ९८ पुगेको छ ।

त्यस्तै ५११ जना आइसियु र भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार ४०१ जना आइसियु र ११० जना भेन्टिलेटरमा रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये २ लाख ८२ हजार ३८२ निको भएका छन् भने ३२ सय ९८ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ ।