जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १४:०९

विरामीले बेड पाउन मुस्किल भएपछि प्रसूतिगृहले सञ्चालनमा ल्यायो ५० बेडको छुट्टै एचडीयू


काठमाडौं, बैशाख २१

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका निर्देशक डा. संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताउनुभएको छ । उहाँले ५० मध्ये १५ बेड गर्भवतीका लागि र ३५ बेड अन्य महिलाका लागि छुट्याइएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ कोभिड पोजेटिभका गम्भीर आइसीयूमा राख्नुपर्ने संक्रमितको उपचार हुँदैन । सामान्य अक्सिजन लिनुपर्ने बिरामीका लागि मात्रै हामीले यो सेवा सुरु गरेका हौँ । विशेषगरी न्युन मध्यम वर्गका महिलाहरु अक्सिजन आवश्यकता भएपछि टेकु अस्पताल भर्ना हुन भन्दै जाने तर त्यहाँ बेड नपाउने अवस्था छ, त्यसैले यस समयमा सहयोग पुर्याउन एचडीयू सञ्चालन गरेका हौं ।’