जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार ०९:२३

राष्ट्रपतिको सवारीमा उल्लेख्य सुधार : शीतलनिवासमै उदघाटन, हुन छाड्यो सडक जाम


काठमाडौं, जेठ २७

राष्ट्रपति बिद्यादेवी भण्डारी यही जेठ २१ गते नेपालगन्ज जानुभयो । राष्ट्रपति जाँदा र आउँदा सडक जामदेखि हवाई उडानसम्म समस्या हुने गरेको अन्य दिन भन्दा बिल्कुलै फरक देखियो । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । नियमित उडानमार्फत नेपालगञ्ज पुग्नुभएकी राष्ट्रपति भण्डारी २३ गते राजधानी फर्कुनुभयो । तर दुवै दिन विमानस्थलमा कुनै असर परेन । नागरिकले राष्ट्रपतिको यात्रा होस त यस्तो भन्दै जनताकी छोरी राष्ट्रप्रमुख भएकोमा गर्व गरे ।

हो पछिल्लो समय सर्वसाधरणकोआवाजलाई शीतलनिवाशले निकै गम्भीरतापुर्वक लिएर सवारीमा सुधारको काम अघि बढाएको छ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपति भण्डारीको सवारीमा सुधार गर्न थालिएको छ । सर्वसाधरणले दुःख नपाउन भनेर सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गर्दै सवारीमा सुधार अभियान अघि बढाउनु भएको हो ।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । यसमा पनि बिमानस्थलले सुधारको प्रयास अघि बढाएको छ ।

‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ, सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ,’ बिमानस्थलका एक अधिकारीले भने । त्यसो त राष्ट्रपति भण्डारी आफैले किन यसरी जाम गरेको भन्दै सुरक्षामा खटिएका नेपाली सेनाका अधिकृतहरुलाई पटक पटक सोधनी भइसकेको छ । सैनिक अधिकारीहरुले भिभिआइपीको सुरक्षाकालागि भन्दै सडक जाम गर्दै आएका छन । तर पछिल्लो पटक राष्ट्रपति भण्डारीले आफू जनताको छोरी भएकोले जनतालाई दुःख हुने काम देख्न नसक्ने र दुःख हुने गरी कँही कतैनहिडने भनेपछि सुधार प्रयाश अघि बढाइएको शीतलनिवास स्रोतले बतायो ।

राष्ट्रपतिको सो अडानको परिणाम गत साता नेपालगञ्ज भ्रमणमा देखिएको हो । राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबारको भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरिएको थियो । तर बिगतमा भन्दा निकै सहज बनेको देखिन्थ्यो ।

शीतलनिवासभित्रै उद्घाटन

अत्यन्त सामान्य कार्यक्रममा पनि राष्ट्रपति जाने र सडक अस्तव्यस्त बनाउने गरेको भनेर आलोचना बढेपछि प्रयाजसो कार्यक्रम शीतलनिवासभित्रै आयोजना गर्न थालिएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने सम्मेलन पनि शीतलनिवासभित्रै उद्घाटन गरियो । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार सामान्य कार्यक्रमा निस्कँदा सर्वसाधारणलाई सडकमा सास्ती हुन थालेपछि उद्घाटन कार्यक्रम शीतलनिवासभित्रै गर्न थालिएको हो । सुरक्षा निकायले समेत यस्तो सुझाब दिँदै आएका थिए ।

गत फागुनमा सैनिक दिवसका अवसरमा भद्रकाली पुग्नुभएकी राष्ट्रपति फर्कंदा लामो समय सडक खाली बनाएर सास्ती दिएको भन्दै सर्वसाधारणले सवारी अवज्ञा गरेका थिए । त्यसपछि पनि पटकपटक अवज्ञाको प्रयास भएपछि सुरक्षाकर्मीले सवारीको योजनामा परिवर्तन गरेर थोरै समय मात्र सडक खाली गराउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबारदेखि सुरु भएको छ । आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उद्घाटन भएको सम्मेलन कुपन्डोलस्थित हिमालय होटेलमा चलिरहेको छ ।