जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १४:३३

सबै पालिकामा आइसोलेसन कक्ष तयार


सिन्धुपाल्चोक, बैशाख २८

कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ । भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ शय्या, वडा नम्बर ४ मा १० शय्याको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच शुरु गरएको छ । सङ्क्रमितको लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम समेत भइरहेको पालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ ।

त्यसैगरी लिसङ्खु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० शङ्या, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ शय्या र जुगल गाउँपालिकाले ७० शैयाको आइसोलेसन कक्ष तयार गरेको छ ।

दुई डाक्टर र यथेष्ट स्वास्थ्यकर्मी मौजुद रहेको त्यहाँ आइतबारदेखि नै बिरामीको उपचार भइरहेको गाउँपालिका महासङ्घका अध्यक्ष एवं पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० शय्याको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ शय्याको आइसोलेसन कक्ष तयार भए पनि सङ्क्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यस्तै इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ ।

अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासङ्घका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या ४१७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा थप कडाइ गरेको छ ।