जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १५:३७

उपप्रधानमन्त्री इश्वर पोखरेलको ‘अन द स्पट एक्शन’


काठमाडौं, बैशाख २८

उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ । काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको सेन्टरको आज निरीक्षण गर्दै उहाँले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

उहाँको निर्देशनपछि यसै हप्ताबाटै नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।

आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहनुभएको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनुभयो ।