जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार १७:०७

नेपालमा एक लाख नाघ्यो कोरोना सक्रिय संक्रमित, आज थप ९३०५


काठमाडौं, बैशाख २९

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन्।

पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार २९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन्।

थप भएको संख्यासँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा माथि पुगेको हो। पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ। आज देशभर ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ४४४ जना व्यक्ति निको भएका छन्।