जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १३:४५

ओमानबाट ६०० अक्सिजन सिलिन्डर आउँदै, अब हरेक दिन चीनबाट अक्सिजन सिलिन्डर ल्याइने


काठमाडौं, बैशाख ३०

अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला ओमानबाट ६ सय थान अक्सिजन सिलिन्डर आउने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भर्ने तयारी गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ नेपाल एयरलाइन्स चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारीमा छ । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी भएको पौडेलले जानकारी दिनुभयो ।

उहाँले अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको समेत बताउनुभयो । यसअघि निगमको जहाजले मंगलबार बेइजिङबाट ४०० अक्सिजन सिलिन्डर, १६० वटा अक्सिजन कन्सन्टेटर र १० थान भेन्टिलेटर ल्याएको थियो । स्वास्थ्य सेवा विभागका अनुसार उक्त सामग्रीहरु उपत्यकाका विभिन्न अस्पताल र मोफसलका अस्पतालहरुमा वितरण गरिएको छ ।