जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १४:००

सांसद बस्नेतद्वारा एम्बुलेन्स हस्तान्तरण


भक्तपुर, जेठ ४

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका तथा मानविय आस्था नेपाललाई संयुक्त रुपमा सञ्चालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर तिव्ररुपमा फैलिएसँगै विरामीहरुले एम्बुलेन्स नपाएको गुनासो बढेपछि पूर्वमन्त्री तथा सांसद बस्नेतको विशेष पहलमा भारत सरकारको सहयोगमा एम्बुलेन्स ल्याइएको हो ।

उक्त एम्बुलेन्स नगरपालिका तथा मानविय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।सांसद बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले सूर्यविनायक नगर अस्पतालको प्राङ्गणमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । कार्यक्रममा सांसद बस्नेतले अब विरामीहरुले एम्बुलेन्स नपाउने समस्या कम हुने आंकलन गर्नुभयो । उहाँले विरामीले उपचार तथा सुविधा अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो,‘मानव सेवा नै धर्म हो । यस कोरोना महामारीबाट आत्तिने र त्रसित हुनेभन्दा पनि स्वास्थ्य मापदण्ड तथा सरकारले घोषणा गरेको निषेधाज्ञालाई पूर्ण पालना गर्दै रोकथाम तथा न्युनिकरण गर्नुपर्छ ।’ उहाँले यसअवस्थामा केही समस्या भए सम्बन्धित निकायमा सम्पर्क गर्न र त्यसको समाधानका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

यसैगरी मेयर थापाले नगरका जनताको जीवन रक्षा गर्न आफू खटिरहेको भन्दै उपचारमा कुनै समस्या हुन नदिने बताउनुभयो । नगर अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको जानकारी गराउँदै वर्तमान समयमा नगरपालिकाले जनतालाई कोरोनाको खोप तथा स्वास्थ्य सुरक्षाको विषयलाई गम्भिरतापूर्वक लिई निःशुल्क कोरोना परिक्षण गरिरहेको बताउनुभयो । भक्तपुरमा एम्बुलेन्स लागि ९८०८५२९३८३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।