जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १४:३६

उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स


जुम्ला, जेठ ४

उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।’ उहाँले सङ्क्रमण बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने बताउनुभयो । उहाँले थप्नुभयो, ‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ । आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको छ ।’

देशमा दोस्रो लहरका विरुद्धमा सामूहिक काम गरे कोभिड–१९ को सामना गर्न सकिने उहाँले सुनाउनुभयो । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७– ५२००३८ मा फोन गर्न सकिनेछ भने ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ मा फोन गर्न आग्रह गरिएको छ ।