जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १९:४५

नेपालमा थप दुई भेरियन्ट, ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ भाइरस धेरै संक्रामक र जोखिमपूर्ण


काठमाडौं, जेठ ४

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो । यसअघि भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार यहाँ फेला परेको हो । भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2B.1.617.1 नामाकरण गरिएको छ ।

थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार ३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको हो । मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो । हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ।