जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार २०:०१

नगरप्रमुखको उदाहरणीय काम : बीमाबाट प्राप्त रकम कोरोना कोषमा जम्मा


टेकराज भण्डारी/ अछाम

अछामको मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गर्नुभएको छ । नगरप्रमुख बोहराले कोरोना बीमाबाट प्राप्त गर्नुभएको १ लाख रकममा ५ सय थप गरेर १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा हाल जिल्लामा अक्सिजनको अभाव भइरहेको र गम्भिर प्रकृतिका बिरामी बढीरहेकाले अक्सिजन सिलिन्डर ल्याउन सहयोग पुग्ने विश्वास गर्दै आफूले कोषमा सहयोग गरेको बताउनुभयो । संक्रमित भई निको भएको भन्दै उहाँले कोरोना बीमावापत आएको रकममा केही थप गरी प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘कतिपय व्यक्तिहरु कोरोना संक्रमण पुष्टि भएर जटिल हुँदै अक्सिजन नपाई ज्यान गुमाई रहेका छन्, यो अवस्थामा आफुले बीमावाफत प्राप्त गरेको रकम खातामा जम्मा गर्न र व्यक्तिगत प्रयोजन गर्न सकिँन त्यसैले कोषमा जम्मा गरिदिँए ।’

उहाँले हाल आफू स्वस्थ रहेको भन्दै संक्रमित सबैलाई नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले आफूले गरेको सहयोगले अन्य नागरिकहरुको ज्यान जोगाउन अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री खरिदमा मद्दत पुग्ने आसय व्यक्त गर्नुभयो । यसअघि अघिल्लो वर्षमा पनि उहाँले पालिकाको कोरोना कोषमा १ लाख ५ सय सहयोग गर्नुभएको थियो ।

पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गरिने नगरपालिकाले जनाएको छ । नगरप्रमुख बोहरा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।