काठमाडौ, जेठ ५
दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ । ७३ तले भवन मंगलबार अचानक हल्लिएपछि उक्त भवनमा रहेका सबैको उद्धार गरिएको थियो । चीनमा हाल भुकम्प नगएको भन्दै ९८० फिट अग्लो एसईजी प्लाजा किन हल्लियो भन्नेबारे अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार लाग्ने गरेको छ ।

एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको यो भवन चीनको सेन्जेन भवनको बीचस्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो शहरमा यो भवन छ । चिनियाँहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भनेर आशंका व्यक्त गरिरहेका छन् । मौसमको रिपोर्टअनुसार त्यतिबेला हावा २७ किलोमिटर प्रतिघन्टाको गतिमा थियो। जसले यति ठूलो भवनलाई हल्लाउने क्षमता राख्दैन।
चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो भने विश्वभरका भवनमध्ये २१२ औं स्थानमा छ।
‘बिल्डिङ आसपासका जमिनमा कुनै दरार देखिएको छैन। बिल्डिङको बाहिरपट्टि कुनै क्षति भएको छैन । त्यसैले यसरी बिल्डिङ हल्लिनु चिन्ताजनक छ। हामी यसबारेमा विस्तृत अनुसन्धान गरिरहेका छौं,’स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। घटनामा कुनै मानविय क्षति तथा कसैलाई चोट पटक भने लागेको छैन। एजेन्सी
प्रतिक्रिया दिनुहोस्