जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १४:३६

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री


काठमाडौं, जेठ ६

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ ।

सहयोग सामग्री भोलि सडकमार्ग हुँदै नेपाल आइपुग्ने ढकालले जानकारी दिनुभयाे । १५० लिक्विड सिलिन्डरबाट ४० केजी क्षमताका करिब ६ हजार सिलिन्डर भर्न मिल्ने बताइएको छ । केही समयमा नै तिब्बत सरकारले थप २०० थान आइसियु बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर दिने पनि भनिएको छ ।

हिजो पनि चीनको सिचुवान प्रान्तले अत्यावश्यक स्वास्थ्य सामग्री सहितको चार्टर विमान नेपाल पठाएको थियो । बेइजिङबाट समेत अत्यावश्यक अक्सिजन सिलिन्डर तथा कन्सनटेटर सहितका स्वास्थ्य सामग्रीहरु आउने क्रम जारी रहेको छ । नेपाल एयरलायन्सको वाइडबडी जहाजले दिनहुँ बेइजिङबाट ती सामग्री कार्गो गरी ल्याइरहेको छ ।