काठमाडौं, जेठ ७
सरकारले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गरेको छ। कोरोना रोकथाम तथा निणन्त्रण र उपचारका लागि आवश्य सामान पैठारी सहजताका लागि अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागले कार्यविधि जारी गरेको हो। भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाचँ पास कार्यविधि, २०७८’ ल्याएको हो ।
कारोना महामारी नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको भन्दै मन्त्रालयले नयाँ कार्यविधि नै बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागज पत्र नभएपनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको हो । सरकारले जारी गरेको कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने विषय समावेश गरिएको छ।
कार्यविधिमा भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउन सक्ने उल्लेख छ। मन्त्रालयको अनुसार कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको छ।
साथै आपूर्ति व्यवस्थालाई सहज एवम् शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउण्टरबाट समेत आवश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ। त्यसैगरी जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक द्रुत कार्यदल रहनेछ।
अत्यावश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अलवम्बन गर्न सक्नेछ। साथै जाँचपास भएका मालवस्तुको विवरण सम्बन्धित कार्यालयले दैनिक रुपमा विभागलाई उपलब्ध गराउनुपर्नेछ।
मालवस्तु जाँचपास भएकोमा मनासिव समयभित्र पैठारीकर्ताले त्यस्तो कागजात विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृत समक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले कोभिड रोकथाम र उपचारको लागि २१ प्रकारका मालवस्तु तोकेको छ। यसरी तोकिएका वस्तुहरुमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन, लिक्विड अक्सिजन र अक्सिजन ट्रङ लगायत २१ वस्तु रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्