काठमाडौं, जेठ ८
अमेरिकाबाट पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । भोलि १००० थान अक्सिजन सिलिन्डर आउने भएको छ । अमेरिकाले १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
अमेरिकी कार्गो बिमानले ल्याएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो । युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै स्वीजरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको छ । आज विहान आएको स्वास्थ्य सामग्रीमा १० थान अक्सिजन कन्सनटेटर, ११ लाख थान एन्टीजेन टेष्ट किट, ४० थान भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणसहितको ३० टन स्वास्थ्यसामग्री स्वीस एयरको कार्गो विमान मार्फत आएको नेपालस्थित स्वीस दुतावासले जनाएको छ ।
सिंगापुरबाट पनि आजै चार्टर विमानले स्वास्थ्य सामग्री ल्याउँदैछ । तेमासेक फाउन्डेशन, मिरिक्सेस प्रालि सिंगापुर र लोटसलाईफ फाउन्डेशन सिंगापुरको सहयोगमा कार्गो जहाजमार्फत सामग्री आउने भएको हो । सिंगापुरबाट १ लाख २३ हजार पीसीआर किट, ५० युनिट बाई प्याप, ४ हजार थान पल्स अक्सिमिटर, २ लाख ५५ हजार स्वाब किट, २५६० थान, आरएन एक्सटयाक्सन किट २ थान आरएन एक्सटयाक्सन मेसिन, टेलि भेन्टिलेटर ३० वटा, भेन्टिलेटर ६ वटा आउन लागेको बताइएको छ । सिंगापुरबाट स्वास्थ्य सामग्री बोकेका अरु दुईवटा कार्गो विमान आजै काठमाडौं आउनेछ ।













प्रतिक्रिया दिनुहोस्