काठमाडौं, जेठ १०
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररुपमा फैलिएसँगै काठमाडौं उपत्यका बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ । चरण–चरण गर्दै निषेधाज्ञा थपिने क्रमसँगै पुनः फेरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार भोली बस्ने उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु रहेका छन् । उहाँले भन्नुभयो, ‘संक्रमणदर घटेन, मृत्युको संख्यासमेत बढ्दै गएपछि र मान्छेको आवतजावत निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्ने तयारी छ ।’
सरकारले गएको हप्ता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्न पनि निषेधाज्ञालाई कडाइका साथ थप्ने उहाँले बताउनुभयो । अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।
यसअघि शनिबार मात्रै गृह मन्त्रालयले तिनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो ।अहिले जारी उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्मको लागि हो ।













प्रतिक्रिया दिनुहोस्