जनता टाइम्स

१२ जेष्ठ २०७८, बुधबार १३:२०

अक्सिजनको अभाव हुँदैन, सबैलाई खोप दिलाउने अभियानमा छौं : राज्यमन्त्री मानन्धर


काठमाडौं, जेठ १२

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताउनुभएको छ । काठमाडौंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल शुभारम्भ गर्दै मन्त्री मानन्धरले अक्सिजनको अभाव समाधान उन्मुख रहेको दाबी गर्नुभयो । महामारीको दोस्रो लहर उत्कर्षमा केही दिन पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधानउन्मुख भएको मानन्धरको दाबी छ ।

उहाँले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रीत भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरुसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताउनुभयो । मन्त्री मानन्धरले जेठ तेस्रो साताभित्र खोप आयातका लागि ठोस पहल भइसक्ने बताउँदै केही महिना भित्र सबै नेपालीलाई खोप लगाउनसक्नेगरी सरकारले पहल गरिरहेको दाबी पनि गर्नुभयो । मन्त्री मानन्धरले कोरोनाविरुद्धको अभियान अन्तरगत नेपाल दक्षिण एसियामै खोप लगाउने अग्रणी मुलुकमध्ये रहेको दाबी पनि गर्नुभयो ।

कोरोना महामारी नियन्त्रणमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपुर्ण रहेको बताउँदै ७० वर्षे राजनीतिक कालखण्डमा बनेका सरकारमध्ये वर्तमान सरकार नै जनताप्रति सबैभन्दा जिम्मेवार देखिएको बताउनुभयो । यस महामारीको समस्या समाधानमा सरकारले सबै शक्ति प्रयोग गरेको भन्दै उहाँले निषेधाज्ञाको पूर्ण पालना गरेर साथ दिन सर्वसाधारणलाई अपिल गर्नुभयो । कोरोना संक्रमित र महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राज्यले आवश्यक सहयोग र समन्वय गर्ने भन्दै उहाँले जनप्रतिनिधिसँग सिधै सम्पर्क राख्न अनुरोध गर्नुभयो ।

महामारी नियन्त्रण र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बेला केही राजनीतिक दल र नेकपा एमालेकै केही नेताहरुमा विचलन देखिएकाले त्यस्तालाई जनताले नै माफी दिन नसक्ने सुनाउनुभयो । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको भन्दै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिवद्वता जनाउनुभयो ।