जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०९:१३

अक्सफोर्ड युनिभर्सिटीमा प्रधानमन्त्री ओलीको दमदार सम्बोधन, नेपालको अनुभवबाट सवै उत्साहित


लण्डन, जेठ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।

अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।

अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र तथा समृद्धिका लागि जारी प्रयत्नका विषयमा आफ्ना भनाई राख्नुभयो । अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गर्नुभएको हो ।
अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे आफ्नो धारणा राख्नुभयो।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता हुनुहुन्छ । केही वर्षअघि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गर्नुभएको थियो । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थी तथा रिसर्चरहरुले आयोजना गरेका थिए ।

प्रधानमन्त्री ओलीले झण्डै पच्चीस मिनेट लामो सम्बोधनमा गर्नुभएको थियो । भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने जिज्ञासामा प्रधानमन्त्रीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने नीति रहेको जानकारी दिनुभयो । उहाँले देशमा राजनीतिक स्थिरता रहेको वर्तमान अवस्थामा नेपालको विदेश नीति बलियो र परिपक्व रहने पनि प्रष्ट पार्नुभएको थियो

प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुग्नु भएलगत्तै हेलिकोप्टरमार्पत अक्सफोर्ड पुग्नुभएको हो । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।