काठमाडौं, जेठ १४
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ विरुद्धको खोपका लागि चीन र अमेरिकासँग बढी पहल गरिरहेको बताउनुभयो । कोभिड खोपका लागि यी दुई देशसँग हाल कुटनीतिकलगायत अन्य छलफल तथा पहल भइरहेको जानकारी दिनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले कोभिड–१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
हाल चीन, अमेरिका, रुस र बेलायतलाई खोपका लागि पत्राचार गरिएको पनि जानकारी दिनुभयो । यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग बढी पहल भइरहेको पनि उहाँले सुनाउनुभयो । ‘यी चार राष्ट्रलाई खोपका लागि हामीले पत्राचार गरिसकेका छौँ। तर चीन र अमेरिकामा भने बढी केन्द्रित भएर अघि बढीरहेका छौँ।’ उहाँले भन्नुभयो,‘आगामी १० दिन भित्र खोपमा ब्रेक थ्रू हुन्छ। २र४ दिन तलमाथि पनि हुन सक्छ। तर हुन्छ।’
चीनले हालसम्म ५० करोड जनसंख्यालाई खोप लगाएको र ९० देशलाई खोप उपलब्ध गराएको मन्त्री ज्ञवालीले बताउनुभयो । ‘चीनले यति धेरै जनसंख्यालाई खोप लगाएको छ। ९० देशलाई उपलब्ध गराएको छ। अमेरिकासँग पनि ६ करोड एष्ट्राजेनिका स्टकमा छ।’ उहाँले थप्नुभयो, ‘चीन र अमेरिकाले खोप उपलब्ध गराउन सक्छन्। त्यही भएर हामीले चीन र अमेरिकालाई जोड दिइरहेका छौँ।’
चीनले अनुदानमा दिने खोपमध्ये २ लाख आइतबार आउँछ
चीनले अनुदान स्वरुप उपलब्ध गराउने खोपमध्ये २ लाख डोज आइतबार नेपाल भित्रिने भएको छ। मन्त्री ज्ञवालीले दुई लाख डोज तिब्बतबाट आइतबारै नेपाल भित्रिने र बाँकी डोज जुुन १ तारिखसम्म आइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चीनले उपलब्ध गराउने १० लाखमध्ये २ लाख पर्सि ३० तारिखमा तिब्बतबाट आउँछ। बाँकी आठ लाख डोज जुन १ सम्ममा आउँछ।’
यसअघि जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यस्तै नेपाललाई यसअघि पनि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ।













प्रतिक्रिया दिनुहोस्