जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १८:१३

उज्वल थापाको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग


काठमाडौं, जेठ १५ । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

थापाको उपचारका लागि परिवार र शुभचिन्तकहरुले सहयोग रकम संकलन अभियान थालेपछि शनिबार प्रसाईले एक विज्ञप्ति जारी गर्दै उनको उपचार लाग्ने सबै खर्च आफूले ब्यहोर्ने घोषणा गर्नुभएको थियो । तर, थापाको परिवारको हवाला दिँदै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले उनको सहयोग अस्वीकार गरेको बताउनु भएको हो ।

आज नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरिएको प्रेस नोटमा पनि उक्त सहयोग अस्वीकार गरिएको उल्लेख छ । ‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ प्रेस नोटमा भनिएको छ । थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको परिवारले जनाएको छ ।