जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १८:५२

सरकारी कर्मचारीको तलब बढ्यो, महंगी भत्तालाई कायमै


काठमाडौं, जेठ १५ । सरकारले सरकारी कर्मचारीको तलब वृृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सरकारले निजामती कर्मचारीको तलव मासिक २ हजार रुपैयाँ बढाउने घोषणा गर्नुभएको हो । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको छ ।

साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताउनु भयो । त्यस्तै सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । मन्त्री पौडेलले सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत बताउनु भयो ।

यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।