चितवन, जेठ १६
बाँदर र गाईलाई नियमित एक युवा उद्यमीले खाना खुवाउँदै आउनुभएको छ । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै आउनुभएको हो । भरतपुर महानगरपालिका–१ निवासी चन्दन अग्रवालले गत वर्षको कोभिड सङ्क्रमणका कारण लकडाउन हुँदा बाँदरलाई बिस्कुट र गेडागुडी खुवाउँदै आउनुभएको छ ।
बाँदरसँगै त्यही रहेका छाडा गाईलाई पनि उहाँले चापट खुवाउने गर्नुभएको छ । साँझको समयमा चना, गहुँ, मकै र केराउको मिश्रणलाई भिजाएर बिहान देवघाट जाने बागेश्वरी वन क्षेत्रमा उहाँले बाँदरलाई दिने गर्नुभएको हो । कहिलेकाही देवघाटको हनुमान मन्दिर क्षेत्रमा पनि उहाँले बाँदरलाई खानेकुरा बाँड्ने गर्नुहुन्छ ।
प्रहरी र स्थानीयले देवघाटमा खाद्यान्न बाँड्दा अवरोध गर्ने भएकाले सो क्षेत्रमा नियमित बाँड्न नपाएको उहाँको गुनासो छ । दैनिक २० किलो हाराहारी गेडागुडी र आठ किलो चोक्कर उहाँले बाँड्दै आउनुभएको छ । आफू जिल्ला बाहिर र व्यस्त हुँदा बुबा उमाशङ्कर र भाइ रञ्जनले खाना बाँड्ने गरेको उहाँले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्