काठमाडौं, जेठ १६
पाँच दलका नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा माधवकुमार नेपाललाई नेकपा एमालेको वरिष्ठ नेता भनेर उल्लेख गरिएकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाउनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलका शीर्ष नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग तथा निकायहरुलाई अपिल गर्दै आज संयुक्त वक्तव्य जारी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित उक्त वक्तव्यमा माधवकुमार नेपालले एमालेको वरिष्ठ नेताको हैसियतमा हस्ताक्षर गर्नुभएको हो । वक्तव्यमा नेपालको हस्ताक्षर अनाधिकृत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको जिकिर छ ।
पाँच दलको वक्तव्य सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेकपा एमालेमा वरिष्ठ नेताको दर्जामा नेता नेपाल नभएको र हस्ताक्षर गर्दै हिँड्न पार्टीले कहिल्यै नखटाएको बताउनुभएको छ । उहाँले अनाधिकृत कार्य भन्दै विधि र पद्धतिको कुराँ गर्दै हिँड्नेले नै त्यसको उल्लंघन गरेको भन्दै अझै विधि र पद्धति ! भन्नुभएको हो ।
थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेख्नुभएको छ,‘विघटित प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा (एमाले) मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति !’













प्रतिक्रिया दिनुहोस्