जनता टाइम्स

१६ जेष्ठ २०७८, आईतवार १५:२७

बजेटले कालीकोटका नागरिक उत्साहित


कालीकोट, जेठ १६

सरकारको आगामी आर्थिक वर्षको वजेटले कालीकोटका नागरिक निकै उत्साहित भएका छन । शनिवार प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सरकारले कालीकोटलाई पनि समेटेपछि जिल्लाका नागरिक उत्साहित भएका हुन् । रास्कोट नगरपालिका वडा नं २ का ७५ वर्षिय धनप्रसाद उपाध्यायले वृद्धवृद्धाको साहरा सरकार भएको बताउनुभयो ।

घरको आगनमा बसेर रेडियो सुनिरहनुभएका उपाध्यायले एमाले सरकारले बृद्धबृद्धा प्रति राम्रो काम गरेको बताउनुभयो । उहाँले खुलेर आफू काग्रेसको सक्रिय राजनितिमा भएपनि अरु पार्टीको राम्रो कामको पनि प्रशंसा गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बढेको समाचारले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो ।

यस्तै उहाँले केन्द्रको सरकारी बजेटले कालीकोटलाई समेटेको यो दोस्रो पटक भएको बताउनुभयो । गत वर्ष फुकोट अर्ध जलासययुक्त जलबिधुत आयोजनाको नाम उल्लेख भएको र यो वर्ष उही सरकारले चुलिमालिका लिप्ट खानेपानीको नाम आउनु सुखद क्षण भएको सुनाउनुभयो । खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले पनि आफ्नो नगरपालिका भित्रको खानेपानी समस्यालाई समाधान गर्न चुलिमालिका लिप्ट खानेपानी आयोजनाका लागि बजेट परेकोप्रति खुसि व्यक्त गर्नुभयो ।

नगरप्रमुख पाण्डेले सामाजिक सञ्जाल मार्फत वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीको योग्दानको कदर गर्नु पर्ने बेला आएको बताउनुभयो । रास्कोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खाडाले सरकारले ल्याएको बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई उत्साहित बनाएको बताउनुभयो ।

उहाँले बजेटको सबै क्षेत्रको अध्ययन गरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दै खाली बिरोधका नाममा बिरोध मात्र गर्नुको कुनै महत्व नहुने बताउनुभयो । रास्कोट वडा नं ८ घर भएका सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भानुभक्त बरालले सरकारको बजेट समग्रमा राम्रो रहेको बताउनुभयो । प्रतिपक्षले बिरोध गर्नु उनिहरुको धर्म नै भएको भन्दै बजेट कार्यान्वयन गरेको खण्डमा सबै भन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो ।

सरकारको बजेटले सबै क्षेत्रलाई सम्बोधन गरेको प्रति कालीकोटका नागरिक उत्साहित भएका हुन् । बजेटले कसैलाई पनि पाखा गरेको छैन, सबै प्रति लक्षित छ । यसलाई कार्यान्वयन गर्ने त राज्यका सबै तहको जिम्मेवारी हुने प्रतिक्रिया दिएका छन् । इतिहासकै पहिलो पटक कर्णाली प्रदेशमा बजेट आएको भन्दै सरकारको प्रशंसा समेत गरिएको छ ।