जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १५:३७

राष्ट्रपति भण्डारीद्वारा कोभिड खोप सहायतका लागि बेलायती महारानीलाई पत्राचार


काठमाडौं, जेठ १७

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन बेलायती महारानी एलिजावेथ द्वितीयलाई पत्र पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई पत्र पठाएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली राजदूतावासले आज विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

कोभिड खोपका लागि राष्ट्रपति भण्डारीले कुटनीतिक पहल गरिरहनुभएको छ । उहाँले यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोपका लागि अनुरोध गरिसक्नुभएको छ । उहाँको पहल लगत्तै चीनले १० लाख डोज खोप अनुदान स्वरुप दिने घोषणा गरेको छ र उक्त खोज आज नेपाल आइपुग्दै छ।