जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलवार १९:०८

संबैधानिक निकायविरुद्धको अनुचित हर्कत तत्काल रोक्न एमाले भातृ संगठनको चेतावनी (संयुक्त विज्ञप्तिसहित)


काठमाडौं, जेठ १८

नेकपा एमालेको भातृ संगठनहरुले संबैधानिक निकायविरुद्धको अनुचित हर्कत तत्काल रोक्न चेतावनी दिएको छ । आज एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै १६ ओटा संगठनले त्यस्ता हर्कत तत्काल रोक्न माग गरेको हो ।

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेसागत महासंघ, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, राष्ट्रिय युवासंघ, नेपाल र लोकतान्त्रिक मधेसी संगठनद्धारा जारी संयुक्त प्रेस वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीभित्र र बाहिरबाट अनेक असहयोग र बाधा–अवरोध खेप्दा पनि निकै राम्रा र उल्लेखनीय काम गरेकोप्रति प्रशंसा गरेको छ ।

त्यस्तै संगठनले आर्थिक वर्ष २०७८/०७९ को बजेटको स्वागत गरेको छ । अर्थमन्त्रीले शनिबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्नका लागि आत्मनिर्भर, स्वाधीन, दिगो, समावेशी र प्रतिस्पर्धी आर्थिक विकासको पक्षमा रहेको बताइएको छ । मुलुकबाट गरिबी घटाउने, रोजगारी सिर्जना गर्ने, भोकमरीको अन्त्य गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने, सबै किसिमका पूर्वाधार निर्माणलाई प्राथामिकता दिएको भन्दै संगठनले बजेटको स्वागत गरेको हो ।

सरकारले कानून बनाउने, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, जनजीविका, आर्थिक विकास, पूर्वाधार निर्माणमा सडक, सिंचाई, खानेपानी, रेल, उर्जा, सुरुङ निर्माण, पर्यटन, राष्ट्रिय गौरवका आयोजनालाई तिब्रता दिने, खानी उत्खनन्, कृषिको व्यवसायीकरण र आधुनिकीकरण, विज्ञान प्रविधि, सूचना र सञ्चार, सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा, अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्ध विस्तार समेतका अनेक क्षेत्रमा व्यापक कामहरु गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माण सम्पन्नताको दिशामा अगाडि बढिरहेको भन्दै धरहरा, रानीपोखरीलगायतका सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको पनि ओली सरकारमा मुलुकले धेरै उल्लेखनीय काम गरेको बताइएको छ । संयुक्त वक्तव्यमार्फत संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न लान्छना लगाउने, अमर्यादित, असभ्य, अराजक र अपमानजनक शब्दहरुको प्रयोग गर्ने कार्य भइरहेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही व्यक्तिहरुले आफ्नो मर्यादालाई नाघेर विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, अमर्यादित टिप्पणीहरु गर्ने तथा विभिन्न लाञ्छनालगाई व्यक्तिगत चरित्र हत्या गर्ने कार्यप्रति घोर निन्दा र आपत्ति जनाउँदै भत्र्सना र खेद व्यक्त गरेको छ । संगठनले यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याई यथाशीघ्र कानूनतः कारबाही गर्नको लागि माग समेत गरेको छ ।