काठमाडौं, जेठ १९
विश्व स्वास्थ्य संगठनले मंगलबार कोरोना विरुद्ध बनेको खोप सेनोभ्याकलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ। बेइजिङस्थित फार्मास्यूटिकल कम्पनी सिनोभ्याकले उत्पादन गरेको यो खोपलाई संगठने मान्यता दिएको जनाएको छ। आपतकालिन प्रयोगको मान्यता पाउने यो चीनको दोस्रो खोप हो।
अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।। भारतले खोप निर्यातमा रोक लगाएसँगै यो खोपले गरिब देशमा कोरोना विरुद्धको खोपको अभावलाई परिपूर्ति गर्ने बताइएको छ। सिनोभ्याक खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरुका लागि उपयोगी हुने संगठनले जनाएको छ।
यो खोप वृद्धहरुमा समेत उपयोगी हुने विश्वास गरिएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले यो खोपलाई सुरक्षित र प्रभावकारी भएको बताएका छन्। उहाँले यो खोपको सहज भण्डारण भएको भन्दै कम आय भएका देशहरुका लागि उपयुक्त हुने बताउनुभयो ।
यो खोप पनि २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ। दुइ मात्रा लगाउनुपर्ने यो खोप २ देखि ४ साताको फरकमा लगाउनुपर्ने हुन्छ। योसँगै फाइजर, मोर्डना, अक्सफोर्ड, एस्ट्राजेनका, जोन्सनएण्ड जोन्सन, सिनोफार्मले कोरोना विरुद्धको खोपको आपतकालिन मान्यता पाएका छन्।
नेपालमा अनुमति दिने तयारी
औषधि व्यवस्था विभागले सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताउनुभयो । उहाँले डब्लुएचओले नै अनुमति दिएपछि अब नेपाललाई खोपमा सहज भएको बताउनुभयो । डब्लुएचओका अनुसार सिनोभ्याक खोप गम्भिर लक्षणका बिरामीमा ५१ प्रतिशत प्रभावकारी हुन्छ ।













प्रतिक्रिया दिनुहोस्