जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १५:२३

लम्बियो उपत्यकाको निषेधाज्ञा, बिहान ९ बजेसम्म किराना खुल्न पाउने


काठमाडौं, जेठ १९

कारोनाभाइरस जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई जेठ मसान्तसम्म लम्बाइएको छ । आज उपत्यकाका तिन वटै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) को बैठकले जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा उल्लेखनीयरुपमा संक्रमण नघटेको र जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । तीनै जिल्ला प्रशासनको निर्णयअनुसार खाद्य, किराना र ग्रोसरी पसलहरु बिहान ९ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्न पाउने भएका छन् । यातायात र जनस्वास्थ्यका मापदण्ड पालनाबारे भने पुरानै नियम लागु हुने भएको छ ।

पराजुलीका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइनेछ। विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने बताउँदै उहाँले निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर बेलुकातिरको समय दिइने बताउनुभयो । अत्यावश्यक कामका लागि आवश्यक हुने सवारी साधनलाई जिल्ला प्रशासनको पासको आधारमा संचालन हुन दिइने भएको छ ।

बैंक तथा वित्तिय संस्थामा भने कडाइ नै कायम रहनेछ । अहिलको निषेधाज्ञा विहिबार राती मध्यरातसम्म कायमै रहनेछ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो। थप गरिएको निषेधाज्ञा र नियम २१ गतेदेखि लागु हुनेछ । असारदेखि संक्रमण र मृत्युदरको आधारमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिने बताइएको छ । उसो त उपत्यकामा निषेधाज्ञा गरिएको एक महिना वितिसक्दा पनि संक्रमण आशातित रुपमा घट्न सकेको छैन।