जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १४:४३

विज्ञापन रद्द गर्ने निर्देशनविरूद्ध आन्दोलन


काठमाडौं, जेठ २८

स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोकसेवा आयोगलाई संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको विरोध गर्दै आजदेखि काठमाडौंमा आन्दोलन भएको छ। लोकसेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोकसेवा आयोगलाई दिएको सो निर्देशन मान्य नहुने चेतावनी दिँदै माइतीघर मण्डलामा आज बिहानैदेखि आन्दोलन सुरू भएको हो ।

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरूले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरूद्ध सो निर्देशन दिएकाले त्यसविरूद्ध सडक संघर्ष सुरू गर्नुपरेको बताएका थिए । उनीहरूले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिएका छन्। विद्यार्थीहरूले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोकसेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समेत समितिलाई चेतावनी दिएका छन्।

संघर्ष समितिले ‘जनताको हितविरूद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन’, ‘पूर्वनिर्धारित लोक सेवा आयोगको परीक्षा सञ्चालन गर’ लगायतका चर्का नाराबाजी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आक्रोश व्यक्त गरेका थिए। यसअघि हिजो बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्मविपरीत आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाएको निष्कर्ष निकाल्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो।