जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार १५:१३

टिचिङले सञ्चालनमा ल्यायो लिक्वीड अक्सिजन ट्याङ्क, अब अक्सिजनको अभाव नहुने विश्वास


काठमाडौं, जेठ २०

कोरोना (कोभिड–१९) का संक्रमितको उपचारलाई आवश्यक अभाव पूरा गर्ने उद्देश्यले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्याएको छ। अस्पतालले २० हजार लिटर क्षमताको लिक्वीड अक्सिजन ट्याङ्क स्थापना गरी सञ्चालनमा ल्याएको हो । ट्याङ्क सञ्चालनमा आएसंगै अब अस्पतालमा विरामीले भोग्नु परेको चरम अक्सिजन अभावलाई पूरा गरेको बताइएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले त्रिविमा कोभिड–१९ का सङ्क्रमितहरूको उपचारलाई केन्द्रित गरी ‘लिक्विड अक्सिजन ट्याङ्क जडान गरेको र बुधबारबाट सञ्चालनमा आएको बताउनुभयो । ‘हामीले हिजोदेखि नै ट्याङ्कीको अक्सिजन अस्पतालको केन्द्रीय आपूर्ति प्रणालीमा पठाउने काम सुरु गरिसक्यौं अब अस्पतालले कोभिड संक्रमितहरूको उपचारमा अक्सिजनको अभाव झेल्नु पर्दैन ।’

अस्पतालमा पाइपबाट पानी आपूर्ति गरेजस्तै अक्सिजन पनि आईसीयू, अपरेसन थिएटरलगायतका हरेक वार्ड र कोठामा पाइप प्रणालीबाट नै पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन ट्याङ्क सञ्चालनमा आएपछि अब टिचिङले बाहिरबाट थप अक्सिजन ल्याउनु पर्दैन । लिक्विड अक्सिजनलाई माइनस १८० डिग्री सेल्सियसमा राख्नुपर्ने भन्दै उहाँले एक लिटर लिक्विड अक्सिजनबाट सात सय लिटर अक्सिजन ग्यास बन्ने जानकारी दिनुभयो ।

प्रा.डा. काफ्लेले थप्नुभयो, ‘पर्याप्त मात्रामा अक्सिजन आपूर्तिको व्यवस्था भए पनि बिरामीलाई एक कोठाबाट अर्को कोठामा सिफ्ट गर्दा, अपरेसन थिएटरमा लग्दा वा वार्डमा पुनः सिफ्ट हुँदा र एम्बुलेन्समा जाँदा/लाँदा ‘ब्याक अप’ रूपमा अक्सिजन सिलिन्डर राख्नुपर्छ ।’ यसअघि बिरामीको चाप र अक्सिजनको चरम अभाव भएका बेला प्राप्त भएको चीनको ५३ वटा लिक्विड ट्याङ्कमध्ये हाल १० वटा बाँकी रहेको पनि उहाँले सुनाउनुभयो । ट्यांक स्थापना गर्न स्वास्थ्य मन्त्रालयले ८० लाख रुपैयाँ दिएको थियो । यसअघि त्रिवि शिक्षण अस्पताल परिसरमा ४ वटा अक्सिजन प्लान्ट सञ्चालनमा थियो ।