जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार १८:३८

तत्काल खोप प्राप्त गर्न नसके कठिन अवस्था निरन्तर : डब्लुएचओ


काठमाडौं, जेठ २०

नेपालले तत्काल खोप प्राप्त गर्न नसके कठिन अवस्था निरन्तर रहने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओ–नेपालले आज भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ । संगठन नेपालका प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताउनुभयो ।

नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले ७ लाख भन्दा केही बढीले मात्र खोप प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाखलाई अस्टाजेनेको खोपको दोस्रो डोज उपलब्ध गराउनुपर्छ । जसमा ६५ वर्षमाथिको उच्च जोखिम समूहका मानिस छन् ।’

डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न विकसित राष्ट्रलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । ‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपलालाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उहाँले थप्नुभयो, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तत्कालिन उपाय हुनेछ ।’