काठमाडौं, जेठ २२
विघटित प्रतिनिधिसभा सदस्य एवं पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ कुशलले गृह जिल्ला रामेछापमा पीसीआर परीक्षण मेशिन राख्न नसकिएको स्वीकार गर्नुभएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले गत आर्थिक वर्षमै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत बजेट छुट्याएर पीसीआर मेशिन गर्न खोज्दा पनि गलत सल्लाह पाएका कारण किन्न नसकेको स्वीकार गर्नुभयो ।
‘गत वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै बजेट छुट्याएर एउटा पीसीआर मेशिन किनौँ भनेर मैले भनेको थिए, धेरै खर्च पनि लाग्ने थिएन, एक करोड डेढ करोड जतिमा आईहाल्ने थियो’ उहाँले भन्नुभयो,‘तर, मैले साथीहरुसँग सल्लाह गर्दा अहिले कोरोना हराईसकेको छ, अब चाहिँदैन भन्नुभयो । दशैँ–तिहार मनाउँदा समेत अवस्था सामान्य नै देखिएकोले मैले पनि साथीहरुको सल्लाह ठिकै होला भन्ने ठानेँ, अहिले आलोचित छु ।’
उहाँले थप्नुभयो, ‘पोहोर नै बजेट छुट्याउन पाएको भए अहिले मेशिन आईसकेर पनि जिल्लामै सञ्चालन भईसकेको हुन्थ्यो, त्यतिबेला बजेट नछुट्याउनु कमजोरी भएछ भन्ने लागेको छ । २/२ पटक माननीय भएर पनि जिल्लाको लागि आवश्यक हुँदा एउटा पीसीआर मेशिन पनि राख्न नसक्दा दुःखी छु ।’
उहाँले अक्सिजन प्लान्ट राख्न र पीसीआर मेशिन खरिदका लागि अर्थ मन्त्रालयबाट आफ्नै पहलमा अहिले बजेट विनियोजन भएको दाबी गर्दै सार्वजनिक खरिद ऐनका प्रावधानका कारण चाँडै ल्याईपुर्याउन सकिने अवस्था नभएकाले ‘फास्ट ट्रयाक’ बाट मेशिन खरिद गर्ने पहल भईरहेको पनि सुनाउनुभयो ।















प्रतिक्रिया दिनुहोस्