जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १५:५७

प्रीतमको हाईहाई, इटहरी नगरको बाल सद्भावना दूत


इटहरी, जेठ २८

इटहरी उपमहानगरपालिकाले बाल गायक प्रीतम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर लक्ष्मी गौतमले दूत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभएको थियो । कार्यवाहक मेयर गौतमले ‘इटहरीको छोरो’ प्रीतमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

इटहरी उपमहानगरले प्रीतमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रीतमले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सपोर्ट र मायाप्रति धन्यवाद दिनुभयो । भारतमा प्रतियोगितामा भाग लिन जानुअघि उहाँलाई मेयर द्वारिकलाल चौधरीले नेपाली झन्डा प्रदान र उपमेयर गौतमले नेपाली टोपी लगाइदिएर बिदाइ गर्नुभएको थियो ।

आचार्य भारतीय टेलिभिजन जीटीभीको चर्चित रियालिटी सो सारेगम लिल च्याम्समा तेस्रो भएर सोमबार इटहरी फर्किनु भएको हो । उहाँले दूत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बलि चढाऊ’ बोलको गीत गाउनुभएको थियो ।