जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार ११:२७

जुम्ला कारागारका कैदीको कोरोनाका कारण मृत्यु


जुम्ला, जेठ २५

जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–१ का ७६ बर्षिय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा। रमेश भट्टराइका अनुसार दुइदिन देखि आइसियुमा उपचाररत कैदीको मृत्यु भएको हो।

प्रवक्ता भट्टराईले भने,‘संक्रमितलाई कैदीलाई जेलबाट उपचारका लागि ल्याइएको थियो। उहाँलाई सामान्य दमको समस्या देखिएको थियो। दुई दिनदेखि आइसियुमा राखेर उपचार भइराखेको थियो। सोमबार उहाँको उपचारका क्रममा मृत्यु भएको हो। हालसम्म जुम्लामा कोरोना संक्रमणका कारण मृत्युको संख्याको ३ पुगेको छ। बाहिरी जिल्लाका समेत गर्दा ६ जना संक्रमितको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका दुई जना, सुर्खेत घर भएर कालिकोटमा व्यवसाय सञ्चालन गर्दै आइरहेका १ जना, जुम्लाको हिमा गाउँपालिकाका १ जना, तिलाका १ जना र गुठिचौर गाउँपालिकामा एक गरेर ६ जना संक्रमितको मृत्यु भएको हो । जिल्ला कारागार जुम्लाका कोरोना लक्षणका बिरामी देखिएपछि अस्पतालले पिसिआर परिक्षण गरेको थियो। जसमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक बाहेक अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।

डिएसपी थापाले भन्नुभयो,‘ मृतकलाई संक्रमणको शुरुवात देखि नै अस्पतालमा लगिएको थियो। अक्सिजन दिइएको थियो। आइसियुमा राखेर उपचार भइरहेको थियो। चिकित्सकको उच्च निगरानी थियो। तर बचाउन सकिएन। कैदी संक्रमितलाई अस्पतालमा कडा सुरक्षा दिएर उपचार भइराखेको थियो। ’उमेरका हिसावले पाको र दमको रोगी भएकोले बचाउन कठिन भएको हो।

मृतक पुरुष जबरजस्तीकरणी मुद्धामा जेल चलान भएका थिए। कारागारका कैदीबन्दीलाई भित्रै आइसोलेट गरेर राखेको कारागार जुम्लाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार बैशाख ८ देखि यता ५ सय ५ जना संक्रमित छन। जसमध्ये २ सय ९१ जना निको भएर घर फर्किएका छन। अस्पतालमा ३४ जनाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। दैनिक दिन कोरोना संक्रमण बढिरहेकोले उच्च सावधानी अपनाउदै निषेधाज्ञाको पालना गर्न आग्रह गरिएको छ।